दफा
प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्र निर्धारण

(१) आयोगले दफा ३ बमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि सम्बन्धित प्रदेशमा निर्धारण भएको निर्वाचन क्षेत्रको दोब्बर संख्या कायम हुने गरी संविधानको धारा १७६ को उपधारा  (१) को खण्ड (क) बमोजिम प्रदेश सभाको सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।

(२) आयोगले उपदफा (१) बमोजिम प्रत्येक जिल्लामा कम्तीमा दुर्इ निर्वाचन क्षेत्र हुने गरी निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।

(३) यस दफा बमोजिम जनसंख्याको आधारमा कुनै जिल्लामा एकभन्दा बढी निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने भएमा संविधानको धारा २८६ को उपधारा (६) मा उल्लिखित विषयलाई ध्यान दिई सम्भव भएसम्म त्यस्तो जिल्लाभित्रका सबै निर्वाचन क्षेत्रको जनसंख्याको अनुपात समान हुने गरी निर्धारण गर्नु पर्नेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहाय बमोजिम गर्ने गरी निर्वाचन क्षेत्र निर्धारण गरिने छैनः—

(क) एक जिल्लाको क्षेत्रलाई अर्काे जिल्लामा समावेश हुने गरी,
(ख) प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्रलाई अर्काे निर्वाचन क्षेत्रसँग समावेश गरी, वा
(ग) नगरपालिका वा गाउँपालिकाको कुनै वडा एक भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गरी ।